दफा ५८
दण्ड सजाय
(१) यो ऐन अन्तर्गत कोषले गरेको लगानी वा प्रदान गरेको कर्जा वा अन्य कुनै सुविधाको निमित्त कोषलाई उपलब्ध गराएको कुनै विवरण वा प्रमाणपत्र वा धितो राखिएको कुनै रसिद वा अरू कुनै कागजातमा कसैले जानी जानी झुट्टा व्यहोरा पारेमा वा पार्न लगाएमा त्यसबाट कोषलाई कुनै हानी नोक्सानी भएमा सो रकम बराबर बिगो भराई त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । (२) कसैले दफा ५४ विपरीत गोप्यता भङ्ग गरेमा निजलाई तीन हजार रुपैंयाँसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजाय हुनेछ । (३) कसैले दफा ५० अन्तर्गत नियुक्त भएको निरीक्षकलाई निजको काममा बाधा बिरोध गरेमा वा निजले जाँच्न चाहेको लेखा वा कागजपत्र कुनै मनासिब कारण बिना जाँच्न नदिएमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना वा दुई महीनासम्म कैद वा दुवै सजाय हुनेछ । (४) कसैले कोषको लिखित स्वीकृत नलिई कुनै विवरणपत्र वा विज्ञापनमा कोषको नाम प्रयोग गरेमा निजलाई एक हजार रुपैंयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।